संस्कृतिको अंग घुँगी
लिंक : संस्कृतिको अंग घुँगी
-उर्मिला गम्वा थारु
काठमाडौँ, भदौँ । घोँघी पानीमा पाइने एक प्रकारको जीव हो । यो झट्ट हेर्दा शंखेकिरा जस्तै देखिन्छ । घोँघी मधेसको ताल, खोला, नदीमा पाइन्छ । थारू जातिले घोँघीलाई आफ्नो खाद्य परिकारमा समावेश गरेको छ । थारू जातिले कहिलेदेखि घोँघी खान थाले, ठ्याक्कै भन्न सकिने अवस्था छैन ।
थारू समुदाय प्रकृतिसँग नजिकै बस्ने जाति हो । थारूहरू नदीको छेउछाउ, पोखरी, तालतलैया भएको ठाउँमा बस्छन् । जहाँ पानीको अस्तित्व छ, त्यहाँ थारू समुदायले आफ्नो वासस्थान बताउँदै आएको पाइन्छ । थारू जाति प्रकृति पूजक समुदाय पनि हो । किनकि, थारू जाति हरेक समय प्रकृतिमा निर्भर हुन्छन् ।
प्रकृतिसँग नजिक हुने क्रममै थारू जातिले घुँगीलाई आफ्नो खाद्य सामग्रीका रूपमा प्रयोग गरेको थारू संस्कृति र इतिहासका विज्ञहरू बताउँछन् । पानी पोखरी र तालतलैयाको नजिकै बस्ने भएकाले तरकारीका रूपमा थारू जातिले घोँघी खान थाले । सुरुमा घोँघीलाई तरकारीका रूपमा मात्र प्रयोग गरियो । यसका फाइदा–बेफाइदाबारे खासै खोजबिन भएन । घोँघीमा प्रोटिनको मात्रा धेरै पाइन्छ भन्ने पछि पत्ता लाग्यो ।
उपलब्धताका दृष्टिले पनि घुँगी सजिलै पाइन्छ । माछा–मासुजस्तो किन्न पर्दैन । फुर्सद हुनेबित्तिकै नजिकैको नदी वा तालमा गएर तुरुन्त ल्याउन सकिन्छ ।
घोँघी थारू संस्कृतिको अंग बन्यो । घोँघी र थारू समुदायका सम्बन्धबारे लोक संस्कृतविद् अशोक थारू भन्छन्, ‘घोँघी थारू जातिको मौलिक परिकार हो । थारू जातिले प्राचीन कालदेखि नै नै घोँघी खान थालेको हो । स्वास्थ्यका दृष्टिकोणले समेत फाइदाजनक छ । यसले शरीरमा रोगसँग लड्ने क्षमताको वृद्धि पनि गराउँछ ।’
०००
घोँघी बनाउने केही विधि छन् । सबैभन्दा पहिला घोँघीलाई सफा पानीले धोएर चामल वा गहुँको पिठो हालेर पानीमा एक दिन भिजाउनुपर्छ । त्यसो गर्दा घुँगीमा भएको विकार चिजहरू बाहिर निस्किन्छ । त्यसपछि फेरि सफा पानीले धोएर घोँघीको पछाडिको भाग काटेर फाल्नुपर्छ । अनि पानीमा हालेर उमाल्ने र घोँघीभित्र भएको बिर्चिन (ढक्कन) बाहिर निकाल्नुपर्छ ।
भाँडामा ठिक्क पानी राखेर घोँघीलाई फेरि पकाउने र त्यसमा स्वादअनुसारको नुन, बेसार, खुर्सानी, लसुन, अदुवा, अलैँची आवश्यकताअनुसार राख्नुपर्छ । मसला घोँघी भित्र पसुन्जेलसम्म पकाउनुपर्छ र चामलको पिठो घोलेर पाकिरहेको घोँघीमा हाल्नुपर्छ । चामलको पिठोले घोँघीको स्वाद झनै थपिदिन्छ र खाँदा घोँघीको चट्टौर (मासु) निकाल्न बनाउँछ । घोँघी पाकिसकेपछि धनियाँ वा लसुनको पत्तालाई मसिनो टुक्रा बनाएर हाल्नुपर्छ ।
अन्तिममा घोँघी झान्ने भाँडालाई मज्जाले तताउने र त्यसमा आफूलाई चाहिनेजति तेल हाली सुकेको मिर्चा (खुर्सानी) र सुकेको तोरीको बियाँ वा मेथी हाली झान्न सकिन्छ । यसरी स्वादिलो घोँघीको परिकार तयार हुन्छ । घोँघी पकाउन माथि भनिएका सबै मसला चाहिन्छ भन्ने छैन । त्योभन्दा कम मसलाबाट पनि बनाउन सकिन्छ ।
०००
घोँघीमा प्रोटिनको मात्रा अत्यधिक पाइने भएकाले स्वास्थ्यका लागि राम्रो मानिन्छ । भारु भाषाविज्ञ रामबहादुर चौधरी भन्छन्, ‘तालतलैयाको फोहोर पानीमा नुहाएर पेट सुन्नियो र वा दुख्यो भने त्यसलाई थारू समुदायले ‘ढिँर फुल्नी’ रोग लाग्यो भन्छन् । यस्तो वेला घोँघी खायो भने ठीक हुन्छ भन्ने विश्वास छ ।’ पेटमा भएको विकारलाई सफाइ गर्ने भएकाले पनि घोँघी स्वास्थ्यका लागि फाइदानजक रहेको उनी बताउँछन् । घोँघीका अरू धेरै फाइदा हुन सक्ने उनको भनाइ छ । भन्छन्, ‘घोँघी खाँदा हाम्रो शरीरलाई पु¥याउने फाइदाबारे थप अध्ययन–अनुसन्धान आवश्यक छ ।’
(यो लेख २०७६ मङ्सिर २८ गते नयाँ पत्रिकाको झननयाँमा प्रकाशीत लेख हो ।)
Comments
Post a Comment