अचेल जुगमानी थारूले घुँगी टिप्न पाउँदिनन्
अम्खोह्या नदी हिजोआज एक्लै कलकल बगिरहन्छ । खैकन्द्र ताल स्थिर छ । ऊसँग खेल्ने दौतरीहरू हिजोआज टाढा गएको उसलाई पटक्कै मन परेको छैन । ऊसँग बात मार्दै घुँगी र माछा मार्न हिजोआज कोही आउँदैनन् । राजिघट्वा, भजहर, बिजुचाँडरसँग सुसेली हाल्न आजभोलि कसैको आँट आउँदैन ।माछा र घुँगी भनेपछि हुरुक्कै हुन्छिन् जुगमानी थारू । तर, आजभोलि टाढैबाट घुँगी हेरेर चित्त बुझाउँछिन् । नदी, तालतलैयामा गएर माछा मार्ने, घुँगी काहार्ने, गँगटो मार्ने त अब उनका लागि सपना मात्रै भयो । जुगमानीले घुँगीको याद गर्छिन् र पहिलेको जस्तो घुँगी र माछा मार्न जाने चाहना व्यक्त गर्छिन् । तर, त्यो दिन कहिले आउँछ, उनलाई पनि थाहा छैन ।
जुगमानीलाई सम्झना छ, त्यस दिन जेठानी, देउरानीसहित माछा मार्न गएकी थिइन् । माछा किन मारेको भन्दै आर्मीले पाँच सय जरिवाना तिरायो । माछा मार्ने टापी, हेल्का, जाल, ठाठी, डेल्या सबै आर्मीले खोसेर लग्यो । जुगमानी भन्छिन्, ‘सारै दुःख गरेर बनाएको थिएँ हेल्का । त्यो फिर्ता नगरेपछि माछा मार्ने मन पनि मरेर गयो ।’
हिजोआज ‘चलो रेउ घुँगी काहर, मछ्छी मार जाई’ भन्ने चलन गाउँबाट हराउँदै गएको छ । कसैले पनि यसलाई प्रयोग नै गर्दैनन् । माछा मार्न जाने रहर मनभित्रै दबाएर बस्छन् जुगमानी र उनका साथीहरू । जुगमानी भन्छिन्, ‘आर्मीले दुःख दिएपछि आजभोलि त आफूलाई म चोर नै पो हुँ कि जस्तो लाग्छ । आफ्नै चिज लिन जाँदा पनि आर्मीले समात्लान् कि भन्ने डर लागिरहन्छ ।’
सधैँ आफ्नो भनिरहेको नदी, तालतलैया कतिखेर अरूको भयो जुगमानीले थाहै पाइनन् । जब माछा मार्न घुँगी काहार्न गएको निहुँमा गाउँका मान्छेलाई आर्मीले पक्रेर लग्यो, त्यसपछि पो उनी झस्किइन् । उनको निराश अनुहारले भनिरहेको थियो, ‘अब त यो नदी–नाला, ताल–तलैया र जंगल पनि आफ्नो रहेन ।’
अम्खोह्या नदी अहिले सुनसान छ । त्यहाँ अब कोही पनि जाँदैनन् । थारूहरू त्यहाँ जान छाडेको आधा दशक बितिसकेको छ । थारूलाई जान बन्देज गरेर त्यो ठाउँ निकुञ्जले लिएको छ । घुँगी असाध्यै पाइने खैकन्द्रा तालमा पनि थारूहरू जान पाउँदैनन्, त्यो ताल पनि आर्मीहरूले लिइसकेका छन् । हिजोआज तालवरपर जाल बोकेका थारूहरू देखिँदैनन्, बरु देखिन्छन्, बन्दुक बोकेका आर्मीहरू । सरकारलाई थारूहरूको प्रश्न छ, ‘घरछेउकै नदीमा जान पाइन्न, जंगलमा जान पाइन्न, घुँगी टिप्न पाइन्न, माछा पनि मार्न पाइन्न, त्यसो भए अब हामी कहाँ जाने रु’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापना भएको धेरै वर्ष भएको छैन । २०२५ सालमा पहिलोपटक त्यो ठाउँलाई शाही सिकार आरक्ष नामकरण गरियो । त्यसपछि २०३२ सालमा शाही वन्यजन्तु आरक्ष अनि २०७३ सालमा आरक्षबाट निकुञ्जमा परिणत गरियो । त्यसपछि कञ्चनपुर जिल्लाको राजिघट्वा, भजहर, बिजुचाँडर जंगललगायत मध्यवर्ती क्षेत्र सबै निकुञ्जभित्र पारियो । निकुञ्जवरपर युगौँदेखि बस्दै आएका थारू समुदायलाई निकुञ्ज क्षेत्रभित्र पस्न वर्जित गरियो ।
पर्यावरणलाई सन्तुलित बनाइराख्न थारू समुदायले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । थारू समुदाय मौसम र समयसँग सहकार्य गर्दै बाँच्ने जाति हो । थारूले प्रकृतिको परिवर्तन र पद्धतिलाई राम्रोसँग बुझेको हुन्छ । कुन समयमा घुँगीले अन्डा बनाउँछ रु कुन महिनामा घुँगी खाँदा मिठो हुन्छ रु कुन समयमा माछा मार्नुपर्छ रु सबै थारूलाई थाहा हुन्छ । प्रकृतिको भाषा बुझ्न नसक्ने राज्य यसरी निकुञ्ज बनाएर कुनै जातिको संस्कृतिको नरसंहारमै उत्रिएको छ ।
जुगमानीजस्ता कैयौँ थारू महिला र पुरुषहरूले जंगलको च्याउ टिपेको अभियोगमा एक हजार जरिवाना तिरेका छन्, माछा, घुँगी मारेको अभियोगमा पाँच सय तिरेका छन् । कैयन् थारूहरूले दर्जनौँपटक जरिवाना तिरेका छन्, कैयन् चाहिँ जरिवाना तिर्नुपर्ने डरले जंगल र नदीतिर जानै छाडेका छन् । बाल्यकाल नदीकिनारा र तालतलैयामा बिताएका थारूहरू अम्खोह्या नदी र खैकन्द्रा तालमा जान पनि डराउँछन् ।भदौ र असोज महिना आएपछि तालको घुँगी सम्झिँदै बस्छन् थारूहरू । माछा मारेका पुराना दिन सम्झिँदै बस्छन् । जंगल र नदीकिनारतिर जान चाहान्छन्, तर आर्मीले हेल्का खोसेर लगेको सम्झिँदै भित्रभित्रै डराउँछन् ।
जुगमानी प्रायः साँझ बिहान माछा मार्न, घुँगी काहार्न जान्थिन् । माछा मार्न र घुँगी काहार्न निकै सौखिन थिइन् । तर अब त सम्झना मात्रै बाँकी रह्यो । भन्छिन्, ‘कहिलेकाहीँ लुकिलुकी माछा मार्न त जान्छौँ । तर, एकदमै डर लाग्छ । डराई–डराई के माछा मार्न जानु, त्यही भएर जान मनै लाग्दैन ।’ दसैँ, तिहार, मर्दापर्दा माछाविना पूजा हुँदैन । जाडपर्व नजिँकिँदै गर्दा माछा कसरी जुगाड गर्ने भन्नेमा जुगमानी चिन्तित हुन्छिन् । यो चिन्ता उनको मात्रै होइन, सिंगै थारू समुदायको हो । अनि उनी लाग्छिन् आफ्नै अम्खोह्या नदी, खैकन्द्रा, झबह्वा, सपाहा, बर्कामुरा तालतिर, आर्मीबाट लुकिलुकी माछा र घुँगी मार्न । युगौँदेखि टिप्दै आएको घुँगी पनि लुकिलुकी, डराई–डराई टिप्नुपर्दा उनलाई ग्लानि महसुस हुन्छ । अनि आफैँलाई प्रश्न गर्छिन्, ‘के म चोर हुँ त रु’
जुगमानीको बस्तीबाट उत्तरतिर भजह जंगल, बीचतिर बिजुचाँडर जंगल छ । यही जंगलको छेउबाटै एउटा ठूलो नदी सिहाली बहन्छ र यो नदीको छेउछाउतिर खैकन्द्रा, झबह्वा, सपाहा, बर्कामुरा तालहरू छन् । यो नदीको छेउमै घना थारू बस्ती छ । त्यो गाउँ हो पिपलारी जोन्हापुर । यही गाउँमा बस्छिन् जुगमानी थारू । जंगल, नदीनाला, तालतलैया यी सबै क्षेत्रलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पारियो । त्यसपछि यो क्षेत्रभित्र पस्न बस्तीका थारूहरूलाई बन्देज लगाइयो । वर्षौदेखि थारू र प्रकृतिसँगको सम्बन्ध चुडाउने कोसिस गरियो ।
यो समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अवस्थित थारू समुदायको मात्र होइन, नेपालको जनजाति, सीमान्तकृत समुदाय सबैको साझा समस्या हो । जसले आफ्नो जीवन जल, जंगल र जमिनमै निर्भर भई बिताएका छन्, उनीहरूका लागि घर भनेको नै जंगल हो । बाँच्ने आधार भनेको नै जल हो । तिनीहरूलाई यो राज्यले जानाजान विलुप पार्न खोजिरहेको छ ।
आदिवासी तथा जनजातिसम्बन्धी महासन्धिको १६९ नम्बर बुँदा र आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र २००७ लाई नेपाल सकारले अनुमोदन गरिसकेको छ । अन्तर्राष्ट्रिय सम्झौता–पत्रमा हस्ताक्षर गरे पनि त्यो व्यवहारमा भने लागू भएको पाइँदैन । ती सन्धिमा जल, जंगल र जमिनसँगको सम्बन्धलाई प्रस्ट व्याख्या गरिएको छ । तर, राज्यको अपार्दशीपूर्ण व्याख्याले आदिवासीलाई अधिकारबाट वञ्चित गरिरहेको छ । राज्यको सुनियोजित कामले बिस्तारै थारूलगायत अन्य आदिवासी–जनजातिको अस्तित्व धरापमा पर्दै गएको छ ।
जुन समुदायले वर्षौंंदेखि प्रकृतिको हेरचाह गर्दै आयो, उनीहरूलाई नै अपराधी करार गरिएको छ । जल, जंगल र जमिनसँगको आत्मीयताबाट आदिवासीलाई अलग्याउन खोजिँदै छ । साथीहरूसँग हाँस्दै, रमाउँदै घुँगी काहार्न गएका, माछा मार्न गएका दिन अब जुगमानीको सम्झनामा मात्रै बाँकी हुँदै छ ।
नयाँ पत्रिकाको झन् नयाँमा २०७८, चैत १२ गते प्रकाशित लेखक
Comments
Post a Comment